Nepali Story - उल्टो कोट - कृष्ण प्रर्साई

सिगरेटको अन्तिम सर्को तानेर निखि्रसकेको ठुटोलाई छेउकै खाली भूइँमा फ्याँकिसकेपछि पुरानो फाटिसकेको जुत्ताले किचेर निभाउदै लामो सास तानेर काकाले भने “मेरो पुरानो प्रतिज्ञा लाई पुनः र्जीवित पार्दै आजैदेखि फेरि मैले आफ्नो कोट उल्टो लगाउने निधो गरेँ।” यति भनिसकेपछि तत्कालै उनले आफ्नो पुरानो इष्टकोट उल्टाए र सहज रुपले आफ्नो शरिरमा लगाए।


रत्नबहादुर कार्की अर्थात रत्नकाकालाई मैले आजभन्दा पैँतीस वर्ष अघि पश्चिम वंगालमा पर्ने शिलगडी शहरको प्रधाननगर भन्ने ठाउँमा पहिलो पटक देखेको थिएँ। त्यतिखेर उनले आफ्नो इष्टकोट उल्टो लगाएको देखेर मैले मेरा आफ्नै काकासँग यसवारे जिज्ञासा राखेको थिए। मेरा काकाले सहज रुपमा भन्नु भएथ्यो। “२०१७ सालअघि रत्नदाई प्रजातन्त्रका प्रवल हिमायती हुनुहुन्थ्यो र पार्टीगत व्यवस्थाको सकृय सदस्य रहेर कांग्रेस राजनीतिमा होमिनु भएथ्यो। सत्र सालको राजनैतिक काण्डको विरोध गरे वापत उहालाई पक्राउ पुर्जी आउँदैछ भन्ने थाहा पाएपछि एकाएक पलाएन भएर उहाँ भारत पस्नु भयो। त्यतिखेर व्यवस्था विरोधीलाई “अराष्ट्रिय तत्व” भनेर तत्कालिन व्यवस्थाका हिमायतीहरुले भन्ने गरेका थिए। व्यवस्था विरोधी जो कोहीलाई अछुत झैँ सम्झने तत्कालिन सासन व्यवस्थाले धेरैलाई आफ्नो वसमा पारे। कत्तिका घरजग्गा सरकारीकरण भए। धेरैलाई विभिन्न जालसाँजी मुद्दा लगाएर आफ्नो ठाउँबाट उठिवास लगाईयो। धेर थोर नगद हुने र आफ्नो थोर बहुत जमिन हुनेहरु टुक्राटाक्री जमिन बेचेर समेत प्रवासिए। कोही टाढाकै मुग्लान पसेर लापत्ता भए जसको पछि सम्म खवर रहेन। रत्नदाई तिनै मध्येका एक इमान्दार कार्यकर्ता थिए जो आफ्नो भए भरको जायजेथा आफ्नी श्रीमती र नाबालक छोराछेारीलाई जिम्मा लगाएर भारत भास्सिएका थिए। रत्नदाई तिनै मध्येका एक सहयोगी प्रजातन्त्रप्रेमी कार्यकर्ता थिए जो आफ्नो प्रवाशी नेतालाई राति–राति सिमा वारी आएर सिमाना नजिक घर रहेका नेताहरुका घरबाट खाने चामल, फलफूल र कुखुराका अण्डाहरु ओसारेर पुर्‍याउथे। रत्नदाई तिनै मध्येका एक व्यवहार कुशल मान्छे थिए। जो प्रवाशित नेताहरुका नेपालतिरका सम्पूर्ण व्यवहारहरु भूमिगत रहेर नेपालमै मिलाउने गर्दथे। उनले गर्ने यी सब काम निःशुल्क थिए। रत्नकाका तिनै मध्येका एक त्यागी र प्रतिज्ञारत कुशल योद्धा थिए जसले प्रजातन्त्रको हरण पछि पुनः नेपालमा प्रजातन्त्र नफर्काउन्जेल सम्म सुल्टो कोट लगाउँदिन भनेर किरिया खाएका थिए।”




मेरा काका अझै थपिरहनु भएको थियो “सरल र जुझारु रत्नदाई अत्यन्तै मिलन्सार छन्”।
रहदै वस्दै जाँदा मैले थाहा पाएँ रत्नकाका व।स्तवमै सहयोगी र सह134दयी रहेछन्। कुनै काममा भेद भाव थिएन रत्नकाकाको। म जस्तो स्कूल पढ्दै गरेको स्कूले ठिटोसँग पनि उत्तिकै मिल्न सक्ने र पैसा हुने वित्तिकै नजिकैको आदुको पसलमा गएर सितलु मिठाई किनिदिने काका सानोभन्दा सानो काम पनि आफै गर्दथे। प्रवाशी नेताहरुलाई “अमृत वजार” पत्रिका किनेर ल्याइदिने देखि नेतापत्नीका साडीहरु बोकेर ड्राइक्लिनर्स सम्म पुर्‍याउन पनि उनी धक मान्दैनथे।

यस्तै यस्ता वानी व्यवहार र मिलनसारितामा मैले पाएको थिए रत्नकाका लाई त्यो प्रवाशी भूमिमा। एक पटक त नजिकको किरिया पुत्री नभएका एक नेताको काज किरियामा १२ दिन सम्म किरिया पुत्री भएर जुठो वारेका थिए उनै रत्न काकाले।

मेरो सम्झनामा रहेको अर्को ताजा घटनामा रत्नकाका र म भएर नै एक दिन हाम्रा नेता पत्नीका नयाँ र राम्रा साडीहरु प्रधाननगरको “वेण्डवक्स” भन्ने ड्राइक्लिनर्समा जाकट राखेर ल्याएको पैसाले वनारसबाट आएका एक जना प्रभावशाली प्रजातन्त्रवादी नेताको अतिथि सत्कारमा खर्चिएका थियौँ। प्रवाशमा भोग्नु परेको गरीवी र अभावको सबै भन्दा ठूलो घटना हुनु पर्छ त्यो। वागडोगरा हवाई अड्डा सम्म लिन जाने र पछि २ दिन सम्मको अतिथ्य सत्कार पछि त्यसै ठाउँमा छोड्न जाने निर्वासित नेताहरुको पङतिको लाममा रत्नकाका पनि एक थिए। तर उनको नाम न ती वरिष्ठ नेतालाई थाहाथियो न उनका कामलाई चासो लिएर उनी प्रति कसैले गम्भीर हुन सकेकै थिए।

सम्झनै सम्झनाहरु वीच अर्को एउटा सम्झना छ काकासँग मेरो। जाडोको छोटो स्कूले विदामा छुट्टी मनाउन म काकासँग एक साँझको समय पारेर आफ्नो घर नौवाबारी फर्केको थिएँ। आजभोली झैँ त्यसताका पनि नेपालका पूर्वी तराई फाँटहरुमा धान पहेँलपुर भएर लटरम्म फलेका हुन्थे। आखाले भ्याइन्जेल सम्म पहेँला धानका फराकिला मैदानहरु औधि रमाइला लाग्थे। १५ दिनको जाडो विदा सकिनै लागेकोले म पुनः आफ्नै प्रवाशी स्कूलमा फर्कने तरखरमा थिएँ। त्यसताका रातैभरि स्याल कराएको आवाज गाउँमा सुनिन्थ्यो। एक ठाउँबाट स्याल कराउन थालेपछि एक पछि अर्को लहरै आवाजमा स्यालहरु घन्टौं सम्म कराउथे जुन आवाज धेरै टाडासम्म फैलिएर आफै एकाएक बिलाएर जान्थ्यो। धान काटिसकेपछि खमारमा थन्क्याइसकेको समय हुन्थ्यो त्यो। त्यतिखेर आजभोलि जस्तो फेदै लगाएर धान काट्ने चलन थिएन। धान काटिसकेर छोडिएको एक फुट जतिको नरुवा भएका गराहरुमा सिलाधान खोज्नेहरुको जमातै भेटिन्थ्यो। सिलाधान खोज्नु कसैका लागि वाध्यता र कसैका लागि रहर थियो त्यतिखेर। दिनभरि सिलाधान खोजेर बेलुका घर फर्केपछि खुट्टा धुने बेलामा घुडामुनि पानीपर्दा चहर्याएर खपिनसम्क्नु हुन्थ्यो शरीरलाई। मुसाले चोरेर पाँजैपाँजा मिलाएर खेतका आलीमुनी दुलामा लुकाएका बाला सहितको मुसे धान पनि मानिसहरुले मुसाको दुलोबाट खनेर निकाल्ने गर्दथे। त्यस्तै दिनहरु मध्ये त्यो एउटा हिँउदे विदा मनाउँदै गरेको दिनको याद छ मलाई, काका मलार्इं छाडेर प्रवाश फर्केपछिको समय थियो त्यो। मुसा जस्तै स्याल लुक्ने अलि ठूला र दुलैदुला भएको ठाउँमा हामीले एक दिन स्याल समाउन भनेर केही दूलामा धुँवा निस्किरहेका पुल्ठा हालेर बन्द गरेपछि केही दूलामा लठ्ठी सहितका हामी चौकिदारी बसेका थियौँ। दूलाभित्र बस्ने स्याललाई बाहिर निकाल्न यसरी धुँवा लगाइएको थियो। तर ठूला स्यालको सट्टा पाँचवटा स्यालका वच्चाहरु धुवाले निसास्सिएर फुत्फुति दूलाभित्रबाट बाहिर निस्केका थिए। कस्तो अचम्म! ती स्यालका बच्चाहरु बाहिर निस्कनासाथ एकोहोरो गरी आकाशतिर मुख फर्काएर सबै एकै नासले रोएका थिए। एकै पटक त्यति धेरै संख्यामा रहेका वच्चाहरु रोएको देखेर म पनि गोठालाहरु झैँ अत्तालिएको थिएँ। हामी मध्येको जेठो मंगले तामाङ्गले सम्झाए पछिमात्र हामी शान्त भएका थियौँ। मंगले तामाङ्गले त्यतिखेरै भन्थे ती बच्चाहरु रामस्यालका बच्चाहरु हुन् रे, र स्यालको जातमा राम स्याल स्यालहरुको राजामा गनिन्छ रे। पुल्ठोका धुवाँले निसास्सिएका ती वच्चा स्यालहरुलाई हामी सबैले कुटी कुटी मारेका थियौ ।

अहिले सम्झदा कहाली लाग्छ ती विदाका दिनहरुमा विताएको पूर्वी तराइको वास। जाडो विदा सकिएर प्रवाशको स्कूल सम्झने वित्तिकै डरलाग्दा दृश्यहरु आँखा वरिपरि घुम्दथे त्यसताका। तौलेर खान पाइने सिमित खानेकुरा, आफूले खाएको भाडाकुडाहरु आफै टल्काएर माझ्नु पर्ने अनुसासन, स्कूलदेखि केही पर रहेको चर्च। चर्च छेउमै लहरै सुतेका इसाई चिहानहरु, चिहान सम्बन्धी साथीभाईले सुनाउने गरेका पत्ताले भूतका कथाहरु, होस्टल छेउमै रहेको वधशाला र वडेमान गोरु र राँगाहरुलाई मेसिन द्वारा गर्धन गिडेका दृश्यहरु। यस्तै थिए तिनताका मैले पालेका म भित्रका दैनिकीहरु। जसले सधै भरी मलाई डसिरहन्थे स्कूल बनेर।

२०३६ सालको जनमत संग्रहमा रत्नकाका भूमिगत रुपमै नेपाल भित्रिए र बहुदलको पक्षम खुलेर वकालत गरे। उनको पक्राउ आदेश त्यति वेला सम्म पनि फुकुवा भैसकेको थिएन। प्रजातन्त्र फर्काउने संकल्पमा जुटेका रत्नकाका पुरानै उल्टो कोट लगाएर प्रचार–प्रसारमा जुटेका हुन्थे।नेपाल फर्किएर प्रजातन्त्रको पक्षमा चुनावी आमसभाहरुमा भाग लिँदा विपक्षीहरुबाट कुटिएर काकाका दुईवटा दाहिने करङ् भाच्चिएको पनि सम्झना छ मलाई। सिलगढीकै कालु डक्टरले केही निको पारेपनि आकाश घुर्मैलो हुनासाथ करङ्हरुले दुःख दिन शुरु गर्ने कुरा मलाई काकाले नै भनेका थिए। प्रजातन्त्र नफर्के सम्म आफ्नो कोट सुल्टो नफर्काउने कसम खाएका काकाले यस काममा जाडो गर्मी केही भनेनन्। हिउँद र वर्षा केही छुट्याएनन्। डोरीले टालेका एडी खिइसकेका प्याट्प्याटे चप्पल सहितको पुरानो झोला र कहिलेकाँही पुरानो जुत्तामा देखिने रत्नकाका त्यतिखेर दिलो ज्यान दिएर जनमत संग्रहमा जुटे पनि अन्ततः उनको केही लागेन। पहेँलोको जीत र निलोको हार भएको सरकारी रेडियोको घोषणा सँगै रत्नकाका फेरि पुरानै ठाउँतिर पलायन भए।

सायद सँगसँगै थियो रत्नकाका पलायन हुनु र म नेपाल फर्किनु पनि। प्रवाशी स्कूलमा काकाको सहयोगी भएर वाल्यकालमै प्रवाश छिरेको म कालन्तर सम्म मैले आफ्नो पढाई प्रवासमा भर्न सकिन। काकाको त्यतिबेलाको राजनैतिक पद्धतिसँग विचलन भएर समयसँग गरेको सम्झौता पछि म पनि आफ्नै गाउँ फर्किएको थिएँ।

त्यति बेला देखि रत्नकाकासँग पातलिएका मेरा सम्बन्ध पछि सम्म पनि बाक्लिन सकेका थिएनन्। यसो हुनुमा मेरो उमेर, मेरा काकाको राजनैतिक विचलन र रत्नकाकाको कर्तव्यनिष्ठाले काम गरेको हुनुपर्छ। तर पनि मेरो बाल्यकालमा उनले छोडेका अमिट छापहरुले होला मैले रत्नकाकालाई कहिल्यै भुल्न सकेको थिइन।

रत्नकाका प्रवाशिएको बेला उनका निजी जीवनमा धेरै परिवर्तनहरु आएका थिए। अलि पछि काकाले छोडेका ठाउँ जग्गाजमिनहरु र परिवेशको ठूलो कायापलट भैसकको थियो। काका प्रवाश छिरेको तीन वर्षभित्रै उनकी श्रीमती काखको नानी च्यापेर अर्कैसँग पोइलिएकी थिइन्। ७ वर्षकी एउटी छोरी र १० वर्षको अर्को छोरोलाई छोडेर आफ्नी श्रीमती यसरी हिडेको कुरा सुनेर काका केही दिन हतप्रद पनि भएथे। तर समयमै उनले आफ्नो समस्या भूमिगत रुपमै नेपाल आएर मिलाए। छोरालाई पुराना प्रजातन्त्र सेनानी रणधीर बुढाथोकीको जिम्मा लगाए र बचेकी एउटी छोरीलाई आफूसँगै शिलिगुडी लिएर गए। अलिकति भएको चल सम्पति भाँडाकुँडा र गाइबाख्रा श्रीमतीले साथै लगेकाले काकालाई कुनै ठुलो लेठा परेन सामान सम्हाल्ने। तर अचल सम्पतीको नाउँमा बचेको पौने दुई विघा जमिन भने काकाले वर्षेनीको खर्च धान्न दुईतीन पटक गरी वेचेर सिध्याएका थिए। श्रीमती पोइलिनु अघि जमिन बेच्ने कुराले नै आफ्नी श्रीमतीसँग ठाकठुक परेको कुरा पनि काकाले त्यसै ताका सुनाएका थिए।

४६ सालको परिवर्तन पछि काका स्वदेश फिरेको कुरा सुने। प्रजातन्त्र फर्काउने काममा आफ्नो सर्वंस्व गुमाएर सम्पत्तिको नाउँमा आफुमात्र रहेका सुकुम्वासी काकाले केहीवर्षका लागि मात्र कोट सुल्ट्याएछन्।

प्रजातन्त्र प्राप्ति पछिका १२ वर्ष रत्नकाकाले प्रजातन्त्र हाक्ने नेताहरु हेरे। प्रजातन्त्रले चलाएको संसद, सासन र सरकार हेरे। नसुन्ने पनि सुने । नेदेख्ने पनि देखे र नभोग्ने सबै भोगे ।

काकाको मर्ने बेलाको अन्तिम इच्छा उल्टो कोटमै सद्गति गर्नु भन्ने थियो रे। नभन्दै उल्टो कोटमै मरेका काकालाइ यथास्थितिमा उल्टो कोटमै जमिनमा दफ्न्याइएकोथियोरे।
२०६५ सालको जेष्ठ १६ सम्म काका बाँचेका हुन्थे भने कमसेकम उनको कोट सधैँभरिका लागि सुल्टिने थियो कि भन्ने म अनुमान गर्छु।

अहिले म तिनै रामस्यालका बच्चाहरुलाई सम्भि्करहेछु जसलाई निकाल्न र मार्न हामीले धुँवाको पुल्ठो बनाएर लठ्ठीहरुमा मनोरन्जन साँधेका थियौँ। बाहिर निस्किए पछि आकाशतिर फर्किएर रुने ती निरीह बच्चा स्यालहरुको कसुर अनि पुनः सम्झदैछु रत्नकाकाले प्रजातन्त्रका लागि लडेर भोगेको नियति, उनको इमान्दारिता र उनले देशका लागि आफू विग्रिएर दिएको समग्रता। उत्तर अझै पाउन सकेको थिइनँ।

काकाको देश उल्टो कोटमै सुतिरहेको थियो।


Source : http://www.samakalinsahitya.com/?show=detail&art_id=1048

 

 

 

Post your comment

Comments

Be the first to comment

Related Articles