Nepali Story – भुन्टी

 

आमा हजुर कहिले आउनु हुन्छ? नर्सरी पढदै गरेकी छोरीले सोधिन्।

तिमी कक्षा तिनमा पुग्दा।

छेवैमा बसेका छोराले हातको औला भाँच्दै भन्यो- ए म त त्यतिबेला कक्षा पाँचमा पुग्छु

हगी आमा ?

सुन्तलीले टाउको हल्लाइन्।

कुन देशमा हो नि हजुर जाने ?

इजरायल


 

ए, कता होला नि त्यो ? पल्लाघरे काका अरब। कालेको बा दुबई। बासघाँसी ठुला बा हङकङ। ऊ त्यो छुच्ची छ नि, मलाई मनै नपर्ने काली, त्यसको बा पनि अरब हो रे। हजुर त कता हो कता ? टाढा होला हगि आमा ? किन नि हजुर मात्र त्यहाँ ?

आमाहरु त्यहाँ जानु हुन्छ क्या……।

आमाहरुले मात्र काम गर्ने ठाउँ होला नि, होइन त आमा….? टाउको हल्लाउदै भुन्टेले सोध्यो। सुन्तली उत्तरविहिन भएर उनीहरुका कुराहरु सुनिरहन्छिन्।

सबै जनाका बाहरु जान्छन्। हाम्रो त हजुर किन नि…..? बालाई जान भन्नु न….? अनि यहाँ अरुको आमाले जस्तै हजुरले हामीलाई घुमाउन लैजाने, मिठो मिठो खान दिने, राम्रा राम्रा लुगाहरु किनिदिने गर्न हुन्थ्यो नि! अनि नि आमा बिर्सिने होइन नि फेरि। अहिलेको दशैमा टुँडिखेलमा मैले रोजेको च्याङग्रो कति ठूलो थियो। हजुरले अर्को दशैमा है बाबु भन्नु भएको छ नि….। हामीहरुलाई केके ल्याइदिनुहन्छ नि…..। भुन्टीलाई ठुलो गुडिया भए हुन्छ। म त त्यतिबेला सम्म ठुलो भइसक्छु, मोटरसाइकल है ? हुन्न त भुन्टी ?

भुन्टीले हुन्छ भन्दै टाउको हल्लाउँछे। सुन्तली वाल्ल परेर उनीहरुका माग र रहरहरु सुनिरहन्छिन्।

होइन आज सुत्नै नपर्ने रहेछ कि क्या हो? छोराछोरीसँग गफ गरेर बसेकी छौ त ? भित्तामा घडी हेर त कति बज्यो ? कमसेकम छोराछोरी लाई समयमा सुत्न त दिनु पर्छ नि। भोलि स्कूल जाने बेलासम्म सुतिरहन खोज्छन फेरि यिनिहरु- पल्लो कोठाबाट भुन्टेका बा कराए। भान्छा कोठामा कुरा गरेर बसेका सबैजना पल्लो कोठातिर लागे।

भोलl त जाने दिन, छोराछोरीलाई सम्झाएर छाड्न पाए भनेर ….। नत्र पछि सातो जान्छ भन्छन्। हजुर सुत्नु, म एकछिन यिनीहरुसँग कुरा गर्छु- यति भन्दै सुन्तली छोराछोरी लिएर फेरि भान्छा कोठामा नै गइन्।

परदेशको यात्रा। भन्छन् समयले कहाँसम्म पुर्‍याउने हो। न भाग्यमा त्यही दिन नै परिवारसँगको अन्तिम पो लेखेको छ कि? थोरै समय होइन पाँच वर्ष भनेको। यतिबेलासम्म आफ्नै हातले सुसार गरेर हुर्काएँ। कहिले यिनीहरुका आँखाबाट आँसु बग्न दिइनँ। जे मागे पनि दिन सके दिन्थेँ, नत्र फकाएर भए पनि खुशी नै राखेकी थिएँ। स्कुल बाट आएपछि गृहकार्य गराउन लगाएर खेल्न पठाउँथे। फर्केर आउँदा सँगै खान्थ्यौँ र सुत्ने बेलामा शिशिर बसन्त, रामायण र स्वस्थानीका कथाहरु सुनाउथेँ। स्वस्थानीका पात्र नवराज साह्रै मन पर्थ्र्यो यिनीहरुलाई। शिशिर बसन्तका कथामा यिनीहरुले आफ्नी आमा नभएपछि पाएका दुःखहरु सुनेर बिचरा…है आमा भन्थे। भोलिबाट खै यी कामहरु कस्ले गरिदेला यिनीहरुलाई। लोग्नेमान्छे बारका दाउरा हुन् भन्छन्। माया त साह्रै गर्छन् नि तर मैले जस्तै खुशी राख्न सक्लान् र ? छोराछोरीलाई धेरै सम्झाउन मन लागेको थियो। तिमिहरु ज्ञानी बन्नू, बाबालाई दुःख नदिनू, भनेको मान्नू स्कुलमा धेरै नचल्नू, वल्लोघर पल्लोघरका साथीहरु सबैसँग मिलेर खेल्नू है…..?

यति भन्दाभन्दै मुटुमा भक्कानो परेर आयो। दुवैलाई च्यापेर रुन थालिन्। आमा, बाहिर जाँदा कहाँ जाने भनेर सोध्नु हुँदैन, अनि रुनु पनि हुँदैन, रोयो भने काम बन्दैन र बिरामी परिन्छ भन्नु भएको होइन र तपाईँले हामीलाई ? हामी त रुँदैनौ हगि दादा। हजुर टाढा जानु हुन्छ, बिरामी पर्नु भयो भने नि ? हजुर पनि नरुनु है भन्दै आँसु पुछिदिन्छन्।

मैले भनेका कुराहरु सम्झिरहनु र त्यसै गर्नु है। ल हिड सुत्न जाँउ…।

आमा, म तीनमा जाँदा आउनुहुन्छ हैन त ….?

हो बाबा हो, कति त्यही मात्र सोधीरहेकी ?

यता भुन्टेका बा पनि कहाँ निदाउन सकेका छन् र ? ओछयानमा यताउता पल्टँदै सोचिरहेका छन्। उनको जीवनमा हरेक दुःख सुखमा आफ्नो प्राण भन्दा बढी माया गर्ने सुन्तली परदेश लाग्दैछ। उनले पनि पठाउन चाहेका त थिएनन्। ब्यवहार बिग्रीर्दै गयो। देशको स्थिति सुध्रिएला र केही गरौँला भन्दाभन्दै सबै गुमिसक्यो। भान्छामा आमासँगै छोराछारीले बालाई पठाइदिनुन हजुर किन जाने नि भनेका कुराहरु र सुन्तली चुप बसेको थाहा पाएर ऊ ओछ्यानमा एक्लै रोएको थियो। छोराछोरीले भनेका कुराहरु सही थिए तर बिचराहरुलाई बा जान खोज्दा धरै पैसा डुबेर ब्यवहार बिग्रिएको के थाहा। अब सुन्तली पनि नजाने हो भने यही भएको बास पनि बेच्नु पर्ने हुन्छ। त्यसपछिका दिनहरु कसरी बित्लान् सम्झदा पनि अतालिन्छन्। सुन्तलीले केही बर्ष दुःख गरी भने पछि त सुखका दिन आउलान् नि। रामेले सुन्तलीसँग केही भन्न चाहेका थिए। तर मुटुमा भक्कानो परेर आयो केही बोल्न सकेनन्। भित्ता पट्टी फर्केर रोइरहे सिरानी भिज्ने गरी।

ए आज त सुन्तली परदेश जाने दिन हो, छिटो छिटो घरको काम सकेर हेर्न जानु पर्छ भन्दै पधेर्नीहरु हतार हतार गरिरहेका थिए। सुन्तली र रामे भने एक अर्काको अनुहार हेर्न समेत सकेका थिएनन्। उनीहरुको मन चुक छरिए जस्तै अँधेरो थियो। घर भरी इष्टमित्र आफन्त र छरछिमेकीहरु जम्मा भएका थिए सुन्तलीको विदाइको लागि। आठ बजेर दश मिनेट जाँदा सुभसाइत छरे पल्लाघरे पण्डित बाजेले भन्नुभएको भन्दै रामे आइपुग्यो। सुभदिनको सुभयात्रा भन्दै रातो अक्षता लगाईदिइन सासुले। नन्द र भान्जा भान्जीहरुले फूल हातमा दिए। सुन्तलीले पनि भान्जाभान्जी र छोरालाई टीका लगाइदिइन्। छोरीलाई देखिनन्। आँखा भरी बादल लागेर दिन नै अँध्यारो भएको थियो बिचरीको लागि। होइन भुन्टी देख्दिन नि कता गइन् ? भीडको बीचबाट कसैले देखाए ऊ …….उनी त कौसीमा साथीहरुसँग रमाउदै सबैजनालाई हेरेर बसेकी रहिछिन्। बोलाएर टिका लगाई दिइन्। भुन्टी दगुर्दै पहिलेकै ठाउँमा गएर बसिन। जतिबेला भुन्टीले आमालाई हेर्थिन्। उनको प्रश्न त्यही थियो..म तिनमा जाँदा हैन त ?

आँखाबाट आँसु झार्दै विदा भइन् सुन्तली। रामे एअरपोर्ट सम्म पुर्‍याउन आए। भित्र पुगिसकेपछि ल त है भन्दै रामे निस्के। सुन्तलीले पछाडि फर्केर हेर्दा उनी टाउको निहुराउँदै आँसु पुछदै बाटो काटिसकेका थिए। एअरपोर्टबाट प्लेन उडेर नेपाल छोडदै थियो। सुन्तलीले आँखा चिम्म गरेर सबै भगवानसँग आफ्नो परिवारको रक्षा गरिदिनू भनेर प्रार्थना गर्दै हात जोडिरहेकी थिइन्।

आकाशको उडान सफल भयो। निश्चित समयमा नै सुन्तलीले सकुशल काम शुरु गरिन्। सबै परदेशी साथीहरुको जस्तै दुःख र पिडाहरु छ उनीसँग पनी। घर र परिवारको सुखद भविष्यको कल्पना पनी छ। विछोडको सम्झना पनि ताजै थियो तर पनि आफ्ना दुःख सम्झेर सबै बिर्सन बाध्य थिईन उनी। विस्तारै विस्तारै ब्यवहार छाँटिदै गएपछी भने अली आत्तिन छाडीन। अब भने हरेक सम्झनामा प्यारा छोराछोरी र लोग्ने लाई भेट गर्ने दिन गन्दै बसेकी थिईन। दशंै लागेको बेला पोहोर दशैमा छोराले रोजेको च्याङग्रो किनीदिनु, बजार घुमाईदिनु, रोजीरोजी कपडाहरु किनीदिनु भुन्टीलाई पनि खुशी राख्नु है भन्नुपर्यो भन्दै फोन गरिन। भुन्टेका बा बाख्रालाई घाँस काटन् गएछन। भुन्टे पनि बा संगै गएछ। भुन्टीले फोन उठाइन। आमा दशैमा बाले दादाले रोजेको च्याङग्रो र मलाई ठुलो गुडिया किनीदिन्छु अनी बजार पनि घुमाई दिन्छु भन्नुभाको छ। अब हजुर आए हुन्छनी त। हामीलाई केही पनि ल्याउनु पर्दैन। दशैमा जसरी पनी आउनुु है ?मलाई कस्तो देख्न मन लाछ हजुर लाई। उही चन्चले बानी, फतफते तोतेबोली सुनिरहन्छिन सुन्तली। बाबा मलाई देख्न मन लागेको बेलामा मैले पठाएको फोटो हेर है। आमा आमा त्यहाँ त पाइन्ट लगाएको छ,यहाँ आउदा त साडी लाउनु है नत्र त सबैले गिज्याउछन नि। भुन्टीका कुराहरु नसकिदै फोनकार्ड सकियो। सुन्तली काममा गईन।

रामेलाई घरको आईमाईको काम देखी सबै धान्न धौ धौ भएको थियो। जति वेला पनी व्यस्तनै थियो। ऊ संग सुन्तलीले दशैको बारेमा केही भन्न पाएकी थिइनन। छुट्टी मिलाएर अर्को हप्ता पनि फोन गरिन। त्यो दिनमा पनि उनले भुन्टे र रामेलाई भेटन सकिनन फोनमा उनै प्यारी छोरी भुन्टी मात्र थिइन आज पनी। खै आजत के भएछ फोनमा नै रुन थालिन भुन्टी। छोरी रोएको सुनेपछि सुन्तलीको मन के थामिन सक्थ्यो र ? किन बाबा किन रोएको भन त के भयो ? अब दशै आउन लागेको छ, स्कुल पनी छुट्ी हुन्छ, बाले घुमाउन लैजानु हुन्छ। त्यहाँ तिमि रोयो भने म पनी रुन्छु, नरोउ है छोरी। के भयो भन त ? म तिनमा पुगेपछी आउछु भन्नु भएको हौईन त हजुरले ? त्यसैले म आज तिनमा गएर बसेकी अनि मिसले निकाली दिनुभयो। कति छुच्ची मिस हगि आमा। भोली त विहानै गएर मिसले नदेख्ने गरी पछाडि बेन्चमा गएर बस्छु अनि हजुर आउनु है……

- सीता बराल

 

 

Post your comment

Comments

Be the first to comment

Related Articles